गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने
नेपालय टाईम्स- काठमाडौं

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल तथा नेपाल आईस हक्की संघको सहकार्यमा विश्वकै अग्लो स्थान गोकियो लेकमा आईस हक्की प्रतियोगिताको आयोजना गर्ने भएको छ । फेब्रुअरी १४ मा ४ हजार ७ सय मिटर अग्लो गोकियो लेकमा विश्व किर्तिमान राख्ने उदेश्यले सो सहासिक खेलको आयोजना गर्न लागिएको हो ।
अमेरिका, क्यानाडा, रूस,भारत लगायत विश्वका १० देशका २० खेलाडीको उक्त प्रतियोगितामा सहभागिता रहने छ । कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेपाल आईस हक्की संघका अध्यक्ष तथा पूर्वमन्त्री भुवन पाठकले नेपालमा आइस हक्कीलाई युवामाझ लोकप्रिय वनाउन कार्यक्रम ल्याईने वताए ।
सन् २०२१ मा नेपाल आईस हक्की संघले अन्तर्राष्ट्रियस्तरको आईस हक्की प्रतियोगिता आयोजना गर्ने वताउदै गोकियो लेकमा हुन गईरहेको आईस हक्की प्रतियोगिताको सफलताको कामना गरे ।
सो अवसरमा नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, टानका अध्यक्ष,नेपाल पर्यटन वोर्डका अध्यक्ष, यति होल्डिङस्का दावा स्टेफेन शेर्पा लगायतले कार्यक्रमको महत्वको विषयमा प्रकाश पारेका थिए । सो कार्यक्रममा नेपाल आईस हक्की एसोसिएसनका उपाध्यक्ष विजय खडका लगायतको उपस्थिति रहेको थियो ।