सोमबार , साउन २३, २०७९

सहरिया सासूआमाको बुझाइ- छोरी थाकेर आउँछे, बुहारी घुम्ने कुर्सीमा बसेर!

साउन ७, २०७९ शनिबार 32

एउटै अफिसमा एकै समय एउटै प्रकृतिको काम गर्ने श्रीमान श्रीमती प्राय: एकैचोटि घर पुग्छन्। घरमा पुग्नासाथ श्रीमानको आदेश आउँछ, ‘आज कस्तो थकियो, जाऊ त एक कप चिया पकाएर ल्याऊ।’

कुनै पहाड फुटाएको त श्रीमतीले देखेकी छैनन्, सँगै वल्लोपल्लो क्याबिनमा बसेर काम गरेर सँगै फर्किंदा श्रीमतीलाई घरमा दाल, चामल भए नभएको, तरकारी भए नभएको, छोराछोरीको लागि केही

सामान लगिदिन पर्ने हो होइन? अनेक तर्कना मनमा घुमिरहन्छन् तर श्रीमानलाई अफिस गइदिनु छ जागिर खाइदिनुछ, घरमा पुगेर पनि अफिसको तोक आदेश लगाउने बानी हटिसकेको हुँदैन।

अझ सँगै कुनै परीक्षाको फारम भरेका हुन्छन्, ‘ल मेरो परीक्षा छ डिस्टर्व नगर्नू है, खाना पाकेपछि बोलाउनू, केटाकेटी यता नपठाउनू’ कोठा भित्रबाट चुकुल लाएका श्रीमानको आदेश आउँछ।

श्रीमती भान्सा, छोराछोरीका अनेक माग, छोराछोरीको होमवर्कको ड्युटी, …. यति गरिसक्दा लखतरान भइसक्छिन्।

उनको पनि त जाँच आएको थियो, उनलाई पनि पढ्न पथ्र्यो होला तर कस्ले पढ भन्ने? श्रीमानको फ्याट्ट नाम निस्कन्छ, श्रीमतीको निस्कन्न।

साथीका श्रीमतीको नाम निस्कन्छ यो खबर सबैभन्दा पहिले यस्तै श्रीमानहरूलाई थाहा हुन्छ।

अनि तिनै श्रीमान महोदयको व्यग्यं हुन्छ आफ्नी पत्नीतर्फ ‘राम्रोसँग पढे पो नाम निस्कन्छ, हेर त फलानाका श्रीमतीको नाम निस्क्यो’।

तर यी महोदयहरूलाई के हेक्का फलानाका श्रीमानले म काम गर्छु तिमी पढ भनेर माहोल पो बनाइदिएका थिए कि! घरधन्दा सम्हालेर श्रीमतीको करियर सोच्ने श्रीमानहरू पनि यही परिधिभित्रै देखिन्छन्। समय नदिने, सहयोग नगर्ने अनि केही गरिनँ भन्नेहरूको जमात पनि यही चौघेराभित्रै देखिन्छ।

यी साझा भोगाइ हुन् आम शिक्षित, केही गरौं भन्ने जागिरे, जागिर खाने प्रयत्न गरेका शिक्षित, सहरिया महिलाहरूको।
उनीहरूको लागि पढाइ भनेको प्राय: पाँचौं प्राथमिकतामा पर्छन्।

घरपरिवार, बालबच्चा, आफन्त, त्यसपछि समय बच्यो भने बल्ल आफ्नो माथिल्लो करियरको बारेमा सोच्ने, अध्ययन गर्ने हो। साझा भोगाइमध्येको एउटा प्रतिनिधि भोगाइ:
एक जना साथी प्राइभेट अफिसमा मार्केटिङको काम गर्छिन्। मार्केटिङको काम सजिलो छैन, अवसर र चुनौती दुवैसँगै हुन्छन्।

कुर्सीमा बसेर आरामसँग कुरा गरेर होइन उभिएरै धेरै काम गर्नुपर्छ। उनकी नन्द सरकारी अफिसमा नायब सुब्बा छिन्। साथीले विस्तारै आफ्नो भोगाइका गाँठाहरू फुकाउँदै गइन्।
आफ्नी आमाको दर्जा मैले दिन्छु भने कान्छी छोरी जतिको दर्जा चाहिएन कम्तीमा बुहारीकै भए पनि दर्जा दिए त हुन्थ्यो नि!

सहर भन्छौं तर यही सहरका प्रत्येक गल्लीमा छोरी र बुहारीको तुलना र विभेदको स्वरूप कस्तो छ भन्ने कस्लाई थाहा? छोरी थाक्दा बुहारी पनि थाक्छन् कम्तीमा यति कुरो बुझौं सहरिया शिक्षित आमाहरू/सासूहरू तपाईंहरूको सधैं जयजय हुन्छ।

आज तपाईंले बुहारीको खेदो खन्ने काम भोलि तपाईंकी सम्धिनीले तपाईंकी छोरीप्रति गरिन् भने तपाईंलाई कस्तो लाग्ला? कम्तीमा यति कुरा बुझ्नु सासूआमा तपाईंकी बुहारी केही गरेर अवश्य देखाउँछिन्।

प्रतिकृया दिनुहोस्