सोमबार , साउन २३, २०७९

तीन घण्टा हिँडेर बर्थिङ सेन्टर पुर्‍याइयो, स्वास्थ्यकर्मी नभएपछि कार्तिकाले बाटोमै जन्मा’इन् बच्चा

साउन ७, २०७९ शनिबार 34

यसै साता बिहीबार अपराह्न २ बजेतिरको कुरो हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलाई सुत्केरी व्यथाले च्याप्यो।

उनको गाउँ मुक्तकोटमा सामुदायिक स्वास्थ्य इकाइ छ तर त्यहाँ सुत्केरी गराउने व्यवस्था छैन। भवन बनेको छ। एक जना अनमी कर्मचारी र एक जना अहेव छन्। यहाँ भरर्खरै परिवार नियोजनका अस्थायी साधन वितरण र प्राथमिक उपचार सेवा सुरू भएको छ।

गाउँमा सुत्केरी गराउन सम्भव नभएपछि गाउँका तीन जना महिला र श्रीमानले कार्तिकालाई तीन घण्टा टाढाको मझगाउँ बर्थिङ सेन्टबिरामी बोकेर लैजान स्टेचर पनि थिएन। बाटोमा कतै डोहोर्‍याउँदै र कतै बोक्दै तीन घण्टा हिँडेर उनीहरू बर्थिङ सेन्टर पुगे।

‘त्यहाँ (बर्थिङ सेन्टरमा) कोही पनि कर्मचारी थिएन,’ कार्तिकालाई लिएर गएकी मन्दरी विकले भनिन्, ‘कार्यालय सहयोगीले इन्चार्ज गाउँपालिकाको बैठकमा गएको र दुई जना अनमी करारको म्याद सकिएर आएका छैनन् भने।’

घरतिर ल्याउँदै गर्दा ताहाडा खोलानजिक कार्तिकालाई व्यथा चर्को भयो। उनी त्यहीँ सुत्केरी भइन्। साथमा रहेका महिलाहरूले सहयोगका लागि चिनजानका स्वास्थ्यकर्मीलाई खबर गरे।

निजी क्लिनिक सञ्चालक एक जना स्वास्थ्यकर्मी आएर नाभी काटे। अन्य आवश्यक सहयोग गरे। उनले फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरे।

गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले म्याद नथपेको भन्दै घरमा बसेकै कारण यस्तो समस्या आएको हो।

‘हामीले स्वास्थ्यकर्मीको हकमा म्याद थप नभए पनि काम गरिहनू, १ गते (साउन) बाट म्याद थप हुनेछ भनेका थियौं तर उनीहरू मनोमानी घरमा बसेको हामीले जानकारी पायौँ,’ रोकायले भने, ‘बाटोमै बच्चा र आमालाई केही तलमाथि भए हामी जेल जानुपथ्र्याे।’

स्वामीकार्तिक खापर गाउँपालिकाका पाँच वटा वडामध्ये तीन वटा स्वास्थ्य केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य इकाई र दुई वटा बर्थिङ सेन्टर गरी सात वटा स्वास्थ्य संस्था छन्।

ती स्वास्थ्य संस्थामा कार्यालय सहयोगीबाहेक कुल स्वास्थ्यकर्मी २८ जना छन्। यहाँ पाँचौं तहका सिनियर अहेव, अनमी र सीएमए कार्यरत छन्। कतिपय कर्मचारीहरू करारको म्याथ थप नभएको जनाएर घरमै बसेका छन्।

अन्य वडाभन्दा वडा नम्बर १ को मुक्तिकोटमा हाल स्वास्थ्य इकाइ पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। कार्तिका त एक दृष्टान्तमात्रै हुन्, उनको गाउँमा सबैको अवस्था एक हो।

‘हाम्रोमा केही सुविधा छैन। मुक्तिकोटमा धेरै दुः’ख छ। गाउँमै सु’त्केरी गराउने वातावरण भए कष्ट भोग्नु पर्ने थिएन,’ मन्दरीले भनिन्, ‘जमान कहाँबाट कहाँ पुग्यो। हामी जंगली जीवन बाँच्न बाध्य छौँ।’

गाउँपालिका अध्यक्ष रोकायाले स्थानीयवासीको समस्या ध्यानमा राखेर साउन १ गतेदेखि नै मुक्तिकोटमा बर्थिङ सेन्टर बनाउन र सेवा विस्तार गर्न बजेट छुट्याएको बताए।

प्रतिकृया दिनुहोस्