सोमबार , साउन २३, २०७९

आधा घन्टामा फर्किन्छु भनेर घरबाट हिँडेकी थिइन् समीक्षा, बुटवलको होटलमा मृ ‘त भेटिइन्

असार २७, २०७९ सोमबार 59

बुटवल-२ पाखापानीकी १६ वर्षकी समीक्षा गुरूङले यसैपालि एसईई परीक्षा दिएकी थिइन्। एसईईपछि उनी काठमाडौं गएर स्टाफ नर्सका लागि ब्रिज कोर्सको तयारी गरिरहेकी थिइन्।

काठमाडौंमा उनकी फुपु रोजिता पनि बस्थिन्। उनी कानुनमा स्नातक पढिरहेकी थिइन्। फुपु-भदै सँगै बस्थे।

केही दिनअघि रोजिताको विवाहको टुंगो लाग्यो। आज सोमबार उनको विवाह हुने तयारी थियो। त्यसैका लागि समीक्षा र रोजिता असार २३ गते बुटवल पुगे। त्यो दिन उनीहरू बुटवलको इँटाभट्टीमा आफन्तको घरमा बसे।

अर्को दिन बिहान ९ बजेतिर स्कुटरमा आएका एकजना युवकसँग समीक्षा आधा घन्टाको लागि भन्दै रोजितासँग विदा मागेर घरबाट निस्किइन्।

आधा घन्टाका लागि भन्दै हिँडेकी समीक्षा दिउँसोसम्म पनि घर फर्किनन्। रोजितालाई म्यासेज गरेर साथीहरूसँग फिल्म हेर्दै गरेको र केहीबेरमा घर आउने बताइन्।दिउँसो म्यासेज गरेकी समीक्षा साँझसम्म पनि घर नपुगेपछि रोजिता आफैंले फोन गरिन्। जवाफमा समीक्षाले केहीबेरमा घर आउने भनिन्।

केहीबेरमा आउने भन्दै बिहानै घरबाट हिँडे पनि साँझसम्म नफर्किएपछि रोजिताले समीक्षालाई हप्काएर छिटो घर आउन भनेकी थिइन्।त्यसपछि भने समीक्षा न घर फर्किइन् न त घरबाट आउने फोन नै उठाइन्।

शनिबार दिउँसो ४ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै शुक्रबार युवकको साथ घरबाट हिँडेकी समीक्षाको शंकास्पद मृ’त्युबारे उनको परिवारले थाहा पायो।शुक्रबार राती एक युवकको साथमा बुटवल वडा नं. ३ गोलपार्कस्थित गोलपार्क होटलमा पुगेकी समीक्षा शनिबार दिउँसो मृ’त भेटिइन्।

प्रहरीका अनुसार शुक्रबार राती एक जना युवकभन्दा आधा घन्टापहिले होटलमा पुगेकी समीक्षा आफैंले होटलको कोठा बुक गरेकी थिइन्। युवक भने आधा घन्टा पछिमात्रै होटल पुगेका थिए। कोठा बुक गर्दा समीक्षाले केहीबेरमा दाइ पनि आउने बताएकी थिइन्।

दिउँसो १२ बजेसम्म समीक्षा ननिस्केपछि होटलवालाले ढोकामा हानेका थिए। भित्रबाट कुनै आवाज नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले होटल व्यवसायी र स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फोरेर हेर्दा समीक्षा झु’न्डिएको अवस्थामा मृ’त फेला परेकी थिइन्।अहिले उनको ‘श’व पोष्टमार्टम गरी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन।

समीक्षाका परिवारले भने नाबालिगलाई कोठा दिनु र सँगै गएका युवक होटलबाट निस्किँदा समीक्षा किन निस्किएन भनेर खोजी नगर्नू होटल सञ्चालकको गम्भीर कमजोरी भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

‘होटलमा धन्दा चलाएर दुई-चार सय कमाउने लोभमा नाबालकलाई कोठा दिनु ठूलो कमजोरी हो। रातीको समयमा नाबालिग केटीले कोठा बुक गरे पनि युवकलाई कुनै परिचय पत्र नराखी कोठामा जान दिएको छ, यो कहाँसम्मको लापरवाही हो,’ उनले भनिन्।

होटल सञ्चालकले भने युवतीले कोठा बुक गर्दा नाम समीक्षा गुरूङ र ठेगाना बुटवल पाखापानी भनेर टिपाएको र दाइ आउने भनेपछि कोठामा जान दिएको प्रहरीलाई बयान दिएका छन्।

सामान्यत: एउटै कोठामा बसेका पाहुना कोठाबाट निस्किँदा सँगै निस्किनु पर्नेमा ती युवकले बिहान ८ बजेतिर पैसा बुझाए पनि कति बेला निस्किए भन्ने आफूले ख्याल गर्न नसकेको होटल सञ्चालकले बताएका छन्।

प्रहरीले होटल सञ्चालकसँगै समीक्षालाई घरबाट ल्याउने युवक र अरू केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक

रविन्द्र पौडेलले घटनासँग जोडिएका शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने र थप अनुसन्धानको काम भइरहेको जानकारी दिए। उनीसँग शुक्रबार राती होटलमा बसेका युवक को हुन् भन्नेचाहिँ अहिलेसम्म पत्ता लागेको छैन।
सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्