सोमबार , साउन २३, २०७९

धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा सदाका लागि अस्ताइन, परिवारमा रुवाबासी

असार १९, २०७९ आइतबार 37

वालिङ:
स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृ’त्यु भएको छ ।

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृ’त्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा:जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ ।

यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ ।

जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्