मंगलबार , असार २१, २०७९

बिबाह गरेर जापान लाने भन्दै चार जना संग करोडौ ठगिन भावना तामाङले

असार १०, २०७९ शुक्रबार 13

झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ ।

सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ ।

सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो ।

मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।

भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् ।

उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।

दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे ।

तर भावनाले आफूलाई ढाडमा समस्या भएकाले काम नगरेको तर आफ्नो व्यापार भाइहरूले हेरिरहेको बताइन् । उनले आफूले काम नगरेकाले तत्काल आफूसँग त्यति धेरै रकमसमेत नभएको बताइन् । मलेसियामा राम्रो व्यवसाय गरिरहेका फुर्वाले तत्कालै भावनाका लागि भन्दै नेपालमा रहेकी उनकी आमाको नाममा ८ लाख पठाइदिए ।

फुर्वाले प्रेम दिवस अर्थात् फेब्रुअरी १४ तारेखका दिन विवाह गर्न अनुरोध गरे । सुरुमा भावनाले पनि हुन्छ भनिन् । तर उक्त समयमा टिकट नपाइएको भन्दै भावना १९ फेब्रुअरी २०२१ मा मात्र नेपाल आइन् । फुर्वा भने १३ फेब्रुअरी २०२१ मै नेपाल आइसकेका थिए ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा,

उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे । आजको रातोपाटिमा खबर

प्रतिकृया दिनुहोस्