मंगलबार , असार २१, २०७९

भाइरल वडाध्यक्षको टिकटक मोहः कार्यकक्षमै डाँडाघरे साइँली

जेठ २१, २०७९ शनिबार 359

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा तनाव सिर्जना गरेर चर्चामा आएका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल ।

बालेन्द्रका समर्थकहरु अहिले पनि उनीविरुद्ध खनिएको खनियै छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेको छ ।

यिनै भाइरल वडाध्यक्ष अहिले फेरि अर्को प्रसंगले चर्चामा छन् । प्रसंग हो उनको टिकटक मोह । उनी विगतदेखि नै टिकटकमा खुबै सक्रिय छन् । अहिले पनि अनेक हाउभाउसहित दिनहुँ नयाँ-नयाँ टिकटकहरु अपलोड गरिरहन्छन् ।

यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा भयो । तर, वडा कार्यालयस्थित आफ्नो कार्यकक्षमै बनाएको टिकटकबाट भने उनले प्रशस्त आलोचना खेप्नु परेको छ ।

अहिले वडाध्यक्ष रिजालको एउटा टिकटक भाइरल भइरहेको छ । यसमा उनले आफ्नो कार्यकक्षमा बसेर ‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने।’ गीतमा एक्ट गरेका छन् । अगाडि टेबलमा वडाध्यक्षको नेमप्लेट र पछाडि राष्ट्रिय झण्डा छ ।

टल्किने कालो चश्मा र क्याप लगाएका रिजालले निकै मेहनतपूर्वक अभिनय गरेका छन् । कमेन्टमा समर्थकहरुको वाहवाही पनि पाएका छन् ।

यो टिकटक भिडिओ नयाँ भने होइन । डेट हेर्दा करिब ४ महिना अगाडि अपलोड भएको देखिन्छ । खोज्दै जाँदा रिजालले कार्यकक्षमा बसेर बनाएका अरु पनि टिकटक क्लीपहरु भेटिए ।

रिजाल यसअघि पनि १६ नम्बरका वडाध्यक्ष थिए । अहिलेको स्थानीय चुनावबाट दोहोरिएका हुन् । दोस्रोपटक निर्वाचित भएपछि भने उनले कार्यकक्षमा नयाँ टिकटक बनाउन भ्याएका छैनन् । तर, उनको पुरानो टिकटक झिकेर भाइरल बनाइएको छ ।

धेरैले मेयर बालेन्द्र शाहलाई ट्याग गर्दै वडाध्यक्ष रिजाललाई ‘ठीक पार्न’ सुझाव दिएका छन् ।
नेपाल प्रेसबाट

प्रतिकृया दिनुहोस्