मंगलबार , असार २१, २०७९

एक हजारबाट सुरु गरेको व्यवसायले करोडपति बनायो

जेठ २१, २०७९ शनिबार 606

व्यवसायबाट धेरै पैसा कमाउन धेरै लगानी आवश्यक पर्छ भन्ने आम मानिसहरुको बुझाइ हुन्छ। धेरैजसो पैसा नै छैन कसरी व्यवसाय गर्ने भन्ने प्रश्नै प्रश्नमा जीवन बेथित गर्दछन्

भने कोही पैसा भएर पनि व्यवसाय गर्ने आँट गर्न सक्दैनन्। जसको नतिजा उनीहरु देश, विदेशमा जागिर खोज्न भौतारिन्छ। जसले गर्दा विभिन्न सास्ती पनि खेप्नुपर्छ।

यसरी भौतारिने अहिलेको युवा पुस्ताका लागि अपवाद हुन २८ वर्षीय प्रेमराज भट्ट। कैलालीको गोदावरी नगरपालिका– २ अत्तरिया घर भएका भट्ट अहिले करोडौंको कारोवार गर्ने युवाका रुपमा चिनिन्छन्।

जो १० वर्ष अगाडि १ हजार रुपैयाँका लागि आफै भौतारिन्थे। डोटीको जोरायल गाउँपालिका- ३ मा जन्मेका भट्टले १४ वर्षमा आफ्नो जन्मघर छोडेका थिए।

कक्षा नौमा अध्ययन गर्दा गर्दै उनी घरमा जानकारी नै नदिई कैलालीको अत्तरियामा रहेको दिदीको घरमा आएका थिए। बसमा आउने टिकटसमेत नहुँदा उनी दिनभर हिँडेर अत्तरिया पुगेका थिए।

घर छोड्नु त्यति बेला उनका लागि बाध्यता थियो। ‘म पढाइमा एकदमै राम्रो थिएँ। कक्षा १ देखि नै प्रथम हुन्थेँ। ३ दिदीको बिहे भइसकेको थियो। बुवा र दाइ भारतमा काम गर्नुहुन्थ्यो। घरमा म र आमा बस्थ्यौँ ’, उनले भने, ‘सबै कुरा सामान्य चलिरहेको थियो।

तर, एक दिन आमा जंगलमा घाँस काट्न गएका बेला रुखबाट लड्नुभयो। आमा घाइते भएपछि उपचारका लागि धनगढी ल्याइयो। लामो समयसम्म उपचार चल्यो। त्यसपछि मैले घरमा एक्लै बस्नुपर्ने भयो। घरको सबै काम गर्नुपथ्र्यो।’

भट्टले सानैदेखि कृषि क्षेत्रमा काम गर्ने सोच बनाएका थिए। त्यही सोचलाई मूर्त रुप दिन उनले १० कक्षा उर्तिण गरेपछि थप अध्यय नगर्नै आवश्यक परे कृषि विषयमा पढ्ने योजना बनाए। कृषिमै उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक अवस्था कमजोर भएका कारणले उनले १५ महिने जेटिए पढ्ने सोच बनाए।

त्यसका लागि उनले सानो जुक्ती निकाले। त्यो थियो थोरै लगानीबाट सुरु गर्न सकिने च्याउँ खेती। १० वर्ष अगाडि भट्टले च्याउ खेतीगर्दा अत्तरिया क्षेत्रमा यसको व्यवसायिक खेती सुरु नै हुन सकेको थिएन। त्यो समयमा धेरैलाई घरमै च्याउ उत्पादन गर्न सकिन्छ भन्ने पनि थाहा थिएन्। त्यही समयमा उनले च्याउ खेती सुरु गरे। त्यो पनि १ हजारको लगानीमा।

‘मैले साथीभाइबाट एक हजार रुपैयाँ सापट लिएर च्याउको खेती सुरु गरेको थिएँ। आफू बस्ने कोठामै पलङ मुनी ४ पोका च्याउ राखेको थिएँ’, ती दिन सम्झदै उनले भने ‘एक हजार लगानी गरेको त्यो च्याउ खेतीबाट मैले ३ हजार कमाए। त्यसले मलाई कृषिमा झन् बढी आकर्षित गर्यो।’ उनको च्याउ खेती विस्तार हुँदै गयो। सँगसँगै उनले त्यही समयमा विद्यालयमा गएर च्याउ खेतीका बारेमा तालिम पनि दिन थाले। विभिन्न सामुदायिक वनले पनि च्याउ खेती सम्बन्धी तालिम दिन उनलाई बोलाउन थाले।

व्यवसाय बढ्दै गएपछि कुरिलोको खेती सुरु गरँे। उनी व्यवसायबाट भएको सबै नाफा व्यवसाय थप्नमै लगानी गर्नथाले। जसले गर्दा व्यवसाय बढ्दै गयो। ‘जहाँ इच्छा त्यहाँ उपाय। आर्थिक अवस्था नाजुक भए पनि कहिल्यै हरेस खाइनँ’,

उनले भने, ‘सायद त्यसैले होला १० वर्षे व्यवसायिक यात्रामा कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’ कृषि व्यवसाय सुरु गरेको ५ वर्षमा १० हजार कुखुरा पालनसँगै करिब ६ विघा जग्गामा कुरिलो खेती विस्तार गरेका उनले अहिले आफ्नै कुखुराको दाना बिक्री गर्नेे पीके पोल्ट्री एण्ड कृषि सप्लायर्स पनि संचालन गरेका छन्।

कृषि सप्लायर्सको वार्षिक २५ करोड कारोबार कृषि सप्लायर्सबाट मात्रै वार्षिक २० देखि २५ करोडको कारोबार हुने गरेको उनको भनाइ छ। पछिल्लो समय दानाको कारोबार बढ्न थालेपछि उनले आठ जना साथीसँग ५ करोडका दरले ४० करोड लगानी गरेर रोयल फिड उद्योग नै संचालनमा ल्याएका छन्।

प्रतिकृया दिनुहोस्