मंगलबार , असार २१, २०७९

त्यो कहालीलाग्दो जेठ १९ फेरि कहिल्यै नदोहोरियोस्

जेठ १९, २०७९ बिहिबार 538

आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ ।

जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १० जनाको इहलिला समाप्त भएको दिन थियो त्यो । त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् ।

कहालीलाग्दो दर्दानाक अतित भनेर स्मरण गर्छन् । राजतन्त्रको जरा काटिएको दिन भनेर बुझ्छन् ।तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएर लेख नै प्रकाशित गरे, ‘नयाँ कोत पर्वलाई मान्यता नदिऔं’ ।

देश दुनियाँले राजदरबार हत्याकाण्डबारे अनेक कोणबाट आआफ्नो दृष्टिकोण पेश गरे । चिनिया प्राध्यापक वाङ् चुङ्ले नारायणहिटी घटनाका खलनायक भन्दै आफ्नो किताब ‘नेपालको सुरक्षात्मक रणनीति’ को पृष्ठ १९ मा अमेरिकी र भारतीय गुप्तचर संस्थाको हात रहेको भनेका छन् ।

काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका थिए । राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज र अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे ।

तत्कालीन शाही नेपाली सेनाको अक्षमताबारे भयंकर आलोचना भयो । राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो । यस्ता रहस्यमय घटनाको विशेषता र प्रवृत्ति नै यस्तो हुँदोरहेछ, जसले शंकाको सुइ जता पनि तेर्साउन मिल्ने बनाउँदो रहेछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए ।

तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा पहिले बस्न मानेर पनि पछि बसेनन् । एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा र नाम नखुलेको कालो पदार्थ सेवन पश्चात उक्त जघन्य अपराध गरेको किटान गर्यो ।

उक्त दावी आम मान्छे पत्याउन मन्जुर छैनन् । वैज्ञानिक र विश्वसनीय अनुसन्धान नभएको भनेर सर्वत्र आलोचना छ । वस्तुगत, सत्यापनीयता, प्रयोगात्मक र प्रविधियुक्त अध्ययन नभएकोले यसको शुद्धता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।

सामान्य शङ्का र प्रश्न सामान्य नै मानिन्छ तर आम मान्छेले आजसम्म पत्याएका छैनन् । वैज्ञानिक विधि विधान बिनाको सतही अनुसन्धान प्रतिवेदन भनेका छन् । त्यसैले त्यो निर्मम घटना रहस्यको पर्दाभित्र नै छ ।

राजनीतिक पार्टीहरूले पनि समय समयमा यस घटनाबारे थुप्रै फण्डा गरे । यसको प्रामाणिकतामा आआफ्नो अनुकूल व्याख्या विश्लेषण गरे । समग्रमा शङ्कास्पद गतिविधि गरे । सत्ता प्राप्ति र अप्राप्तिको विषय बनाए । तर, जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छानबीन आयोग बनाउन जाँगर देखाएका छैनन् ।

यसर्थ पनि घटना खुल्दुली र कौतुहलताको विषय बनेको छ । सत्यतथ्य र जनविश्वास प्राप्त आधिकारिकता नहुञ्जेल घटना रहस्यको मूल केन्द्रमा रहने छ । नेपाल मात्र होइन, विश्व नै यसबारे जिज्ञासु बनिरहने छ । आजको विषय घटनाको अनुसन्धान केन्द्रीत नभएर राजा वीरेन्द्रलाई स्मरण गर्नु मात्र रहेको छ ।

प्रतिकृया दिनुहोस्