मंगलबार , असार २१, २०७९

भोट त हाल्यौं, अब “काम गर्न भारत नै जानुपर्छ”।

जेठ १६, २०७९ सोमबार 225

धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका खैरीघाटका वसन्त ओड भारतको बेंगलोरमा चौकीदारीको काम गर्छन्। उनी भारतमा काम गर्न थालेको २० वर्षभन्दा बढी भयो।

यो अवधिभित्र उनले नेपालमा आएर ५/६ पटक भोट हाले पनि। ‘नेताहरूले फोनका फोन गरे हजुर त्यही भएर आएको हुँ। भोट हालें, नेता जिताएँ।

उनी कुर्सीमा बसेको पनि हेरें। झन्डै दुई सातापछि आज फेरि त्यही डन्डा बजाउन जाँदैछु’, निधारमा रातो टीका लगाएका उनले गौरीफन्टा बोर्डरमा भावुक हुँदै भने।

वसन्तलाई बेलडाँडीका पाँच जना नेताले फोन गरेर बोलाएका थिए। उनलाई आतेजाते भाडा पनि दिने भनिएको थियो। ६/७ जनाको युवाको समूह बाँधेर उनी आए पनि। तर गाउँमा मतदान भयो, नेताहरू घरमा पटकपटक आए, भोट मागे र जिते पनि। तर, अहिले उनी आफ्नै पैसाले टिकट काटेर भारत जाँदैछन्।

गाउँभरि पैसा बाँडियो भन्ने सुनेँ सर। तर, मलाई त आउने जाने टिकट पनि कसैले दिएनन्। चुनावमा भोट हाल्न आउन मन लागिहाल्छ’, वसन्तले भने।

कैलालीको लम्कीचुहा— ८ का ३२ वर्षका युवा दमन देवकोटा पनि भोट हालेर गत बुधबार भारत फर्किए। ७/८ जनाको समूहमा रहेका देवकोटाले भने, ‘हामीले भोट दिएका जनप्रतिनिधिहरूले जितेका छन्।’ कैलालीको लम्कीचुहामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी युवा नेतृ सुुशीला शाहीले मेयरमा जितेकी छन्।

उनको पालिकामा उपमेयर पनि महिलाले नै जितेकी छन्। ‘हामी नेपाली नागरिक हौं, हामीले मताधिकारको प्रगोग गर्नुपर्छ। त्यसैले भोट हाल्न आएका हौं’, उनले भने। दमनको विचारमा अहिले स्थानीय तहमा धेरै भ्रष्टाचार र बेथिति बढेको छ। उनी भन्छन्, ‘नेताहरूले हामीजस्ता लाखौं युवा विदेशमा छन् भनेर थाहा पाउनु पर्‍यो, युवाहरू नै नभएको पालिकामा विकास कसरी होला भनेर थाहा पाउनु पर्‍यो।

रोजगारमुखी कार्यक्रमहरू ल्याउनु पर्‍यो’, दमनले भने। कञ्चनपुरको बेलौरी नगरपालिका— ३ का किसन सिंह थापा पनि २८ वर्षका भए। उनले यसअघि २०७४ सालको निर्वाचनमा पनि भोट दिएका हुन्। ‘पाँच वर्षअघि पनि नेताहरूलाई भोट दिएर जिताएँ, तर गाउँमा कुनै रोजगारी पाइएन।

तीन वर्षदेखि भारतको बेंगलोरस्थित एक होटलमा काम गर्छु’, उनले भने, ‘चुनाव आएका बेला, घरमा पनि भेटघाट हुन्छ। आफ्नो मतको प्रनि प्रयोग हुन्छ भनेर आएको, अब घरमा बसेर के गर्ने ? त्यसैले फर्केर जाँदैछु’, भावुक हँुदै उनले भने।

जनकपुर चुरोट कारखाना विराटनगर जुट मिलजस्ता धेरै संस्थानहरू खारेज भएको उनलाई थाहा छ। हेटांैडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखानाजस्ता रोजगार दिने कम्पनीहरू खारेज भएको पनि उनलाई थाहा छ। उनी भन्छन्, ‘राजाका पालामा भएका कम्पनीहरू त नेताहरूले बेचेर खाए, अब उनीहरूबाट के आस गर्ने ?

म नेपाली नागरिक हुँ, मत हाल्नु मेरो ठुलो धर्म हो भनेर मात्रै आएको, नेताहरूले केही गर्लान् र हामीजस्ता युवाहरूले स्वदेशमै रोजगारी पाउँला भन्ने आस मरिसक्यो।’ कञ्चनपुरकै पुनर्बास नगरपालिका—५ की मनमाया विकको भारतको राजधानी नयाँदिल्लीमा पसल छ।

उनी २८ गते चुनावकै लागि घर आएकी हुन्। परिवारका तीन जना आएको बताउँदै उनले भनिन्, ‘आउने मन त थिएन, तर आमा दलित वडा सदस्यमा लड्नु भएको रहेछ, आमालाई त जिताउनुपर्छ भनेर आएको हुँ’, उनले भनिन्। उनकी आमाले चुनाव जितेकी छिन्।

पुनर्बास नगरपालिकामा पनि मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ भने त्यहाँका अधिकांश वडामा पनि नेपाली कांग्रेसले जितेको छ। मनमाया भन्छिन्, ‘नेपालमा केही काम पाउने भए, भारतमा अर्काको देशका भाँडा माझ्न किन जान्थेँ र ?

तपाईंलाई थाहा छ, भारतीयहरू नेपाली युवाहरूका कारण धनी भइरहेका छन्, हाम्रो देशका नेताहरूका कारण हामी विदेश जान बाध्य छौं, युवाहरू नै नभएको देशको विकास कसरी हुन्छ। त्यसैले अब नेताहरूको चेतना खुलोस्।’अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्