बिहिबार , अषोज १३, २०७९

ग्यासमा ठगिँदै उपभोक्ता, भरिएको शिलिण्डरमा कम तौल, खालीमा लेदो !

साउन २७, २०७९ शुक्रबार 61

सुविधा ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको छ। भरिएको सिलप्याक शिलिण्डर कम तौलको भेटिएपछि उपभोक्ता ठगिने गरेको खुलेको हो।

सुनसरीको दुहवी नगरपालिका-८ सोनापुरस्थित मारुती ग्यास उद्योग प्रालिले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको शिलिण्डर झण्डै एक किलोग्राम कम तौलको भेटिएको छ।

उद्योगले बिक्रीका लागि विराटनगर पठाएको शिलिण्डर चेकजाँच गर्दा तौल नपुगेको हो। खाली शिलिण्डरभित्र पनि लेदो भेटिएको छ।

सिलप्याकमा तौल नपुग्नु र खालीमा लेदो भेटिनुले उपभोक्तामाथि ठगी भइरहेको प्रष्ट हुने गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले जनाएको छ।

शिलिण्डरमा तौल कम भएको पाइएपछि कार्यालयले अनुगमनसमेत गरेको छ। विराटनगर महानगरपालिका-६ का यज्ञ पराजुलीले केही दिनअघि खरिद गरेको सिलप्याक शिलिन्डरमा तौल नपुगेको हो।

विराटनगर-५ मा शमशेर श्रेष्ठले सञ्चालन गर्दै आएको सुविधाको डिलरबाट ग्यास खरिद गरेको पराजुलीले बताए। ‘ग्यास अरु बेलाको भन्दा चाँडै सकिन थालेपछि शंका लागेर तौल लिएको थिएँ,’

उनले भने, ‘नापजाँच गर्दा तौल कम रहेको पाइयो।’ शिलिण्डरमा १४ किलो दुई सय ग्राम ग्यास भरिएको हुन्छ। खाली सिलिण्डर १५ किलो छ सय ग्राम तौलको छ।

भरिएको शिलिण्डर २९ किलो आठ सय ग्रामाको हुनुपर्ने हो। तर तौल लिँदा पराजुलीले किनेको सिलप्याक शिलिण्डर २८ किलो आठ सय २० ग्रामको मात्रै रहेको गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ।

पराजुलीले सुविधा ग्यासबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताए। ‘एक हजार आठ सय रूपैयाँ तिरेर ग्यास खरिद गरेको हुँ। विश्वासका भरमा खरिद गरेर प्रयोग गर्छौँ,’ उनले भने,
.‘तर उद्योगले उपभोक्तामाथि ठगी गर्दो रहेछ। ठगी गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’ नियमनकारी निकाय मौन भएका कारणले पनि उपभोक्ता ठगिने क्रम बढेको पराजुली बताउँछन्।

प्रतिकृया दिनुहोस्